बिहिबार, ०२ कार्तिक २०७४, १३ : ०८
गृहमन्त्री शर्मा व्दारा निर्वाचनमा चुनौती आई परे कम क्षति हुने गरी अगाडी बढन निर्देशन
बिहिबार, कार्तिक २, २०७४

१८ भदौ, जनकपुर । मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनका बेला कुनै पनि चुनौती आई परे कम क्षति हुने गरी अगाडी बढन निर्देशन दिनु भएको छ ।
दुई नम्बर प्रदेश स्तरीय धनुषामा आईतबार आयोजित सुरक्षा गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नु भयो, ‘निर्वाचनमा धाँधली हुँदैन, निष्पक्ष ढंगले सम्पन्न हुन्छ । हामी सुरक्षित निर्वाचन गराउन चाहान्छौं । निष्पक्ष निर्वाचन गराउन सुरक्षा योजनाको अभाव हुँदैन ।’
साथै गृहमन्त्री शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाई सकेको जानकारी गराउनु भयो ।

उहाँले सरकारले जनता र इतिहासप्रति जवाफदेही भएर निर्वाचन सम्पन्न गराउने बताउनु भयो ।
सशस्त्र समूहहरु मनोवैज्ञानिक नाम मात्र रहेको भन्दै उहाँले त्यसको पछि लाग्नु भन्दा ठोस चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले चुनौतीको सामना गर्न आवश्यक तयारी भइसकेको पनि बताउनु भयो ।

‘दुई नम्बर प्रदेशमा भएका बिभिन्न समूहको हर्कत, मतदानको समयमा हुने सम्भावित घटना चुनौती हुन् । तर, आपराधिक समूहहरु मनोवैज्ञानिक नामहरु हुन्,’ मन्त्री शर्माले भन्नु भयो, ‘त्यसको पछि लाग्नुको साटो ठोस चुनौतीको सामना गर्न तिर लाग्नुपर्छ । चु्नौतीको सामना गर्न आवश्यक तयारी भई सकेको छ ।’

सुरक्षाको मुख्य आधार जनता हुन् भन्दै उहाँले सुरक्षा फौज त्यसको नेतृत्वकर्ता मात्र भएको बताउनु भयो ।
उहाँले चुनौतीको सामना गर्न सुरक्षा व्यवस्था मिलाई सकिएको जानकारी दिनु भयो ।
‘नयाँ चुनौती आइपर्दा सामना गर्ने कमाण्ड तयार छ । सुरक्षा निकायहरुबीचको कोअर्डिनेसनको समस्या छैन,’ उहाँले भन्नु भयो ।

मन्त्री शर्माले दुई नम्बर प्रदेशको सुरक्षा हेडक्वाटर जनकपुरमा रहने जानकारी पनि दिनु भयो । उहाँका अनुसार प्रदेश प्रहरीको हेडक्वाटर पनि जनकपुरमै हुनेछ । सशस्त्र प्रहरीको पनि यही प्रदेशमा दुई जना डीआईजी भएकाले समस्या भएको भन्दै उहाँले प्रदेशभर कोअर्डिनेसन गर्ने गरी एउटै एआईजी पठाउने तयारी भइरहेको जानकारी दिनु भयो ।

उहाँले दुई नम्बर प्रदेशका जनता चुनावी उत्साहमा रहेको र बाढीको संकटको बिचमा पनि मतदान गर्न आतुर रहेको बताउनु भयो । बाढी प्रभावितको घाउमा निर्वाचनमा आएका सुरक्षाकर्मी र कर्मचारी मिलेर मल्हमपट्टी लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री शर्माले निर्देशन समेत दिनु भयो ।

सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका सीडीओहरुले सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए । सप्तरीका भागिरथ पाण्डे, सिराहाका श्रीकृष्ण श्रेष्ठ, धनुषाका दिलिपकुमार चापागाईं, महोत्तरीका बाबुराम श्रेष्ठ, सर्लाहीका प्रदीपराज कँडेल, रौतहटका उद्धवबहादुर थापा, बाराका विजयनारायण मानन्धर र पर्साका निमित्त प्रजिअ दुर्गादत्त पौडेलले बैठकमा आ–आफ्नो जिल्लाको अवस्थाबारे मन्त्री शर्मालाई जानकारी गराउनु भएको थियो ।

2